नेपाली साहित्य समाज क्यानडाले टोरन्टो पब्लिक लाइब्रेरीको हलमा वि. स. २०८१ (२०२५) को वसन्त पंचमी सरस्वती पूजा, अक्षरारम्भ एवं सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको छ। ज्ञान, भाषा, संगीत र कलाकी देवी माता सरस्वतीको आशिर्वाद प्राप्त गर्न समुदायबाट उल्लेख्य उपस्थिति थियो।
समाजका अध्यक्ष डा. खेम गुरागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आचार्य प. डा. श्याम खनालले सरस्वती महिमा चर्चा गर्दै ओम् ध्वनीका साथ सरस्वती वन्दनामा उपस्थित सबैलाई सामेल गराई कार्यक्रमको शुरुवात गरेका थिए। साथमा सरस्वती माताको तस्विरमा पुष्प अर्पण, पूजा अर्चना पछि बालबालिका अक्षरारम्भमा सामेल भएका थिए।
पूजा र प्रसाद ग्रहणको कार्यक्रम पछि उपस्थित साहित्य अनुरागीहरुले आ-आफ्ना सिर्जनाहरु- कविता, गजल एवम् कथाका अंशहरु प्रस्तुत गरेका थिए। अनुप न्यौपानेको सिर्जना वाचन पश्चात क्रमश: पुण्यसागर मरहट्टा, रबिन्द्र लम्साल, मेनुका मैनाली, युवराज भण्डारी, शोभा गुरागाईं,रबिन्द्र घिमिरे, पारु पाण्डे, शरद मैनाली, श्याम खनाल, रविन थपलिया, मोहन खरेल र खेम गुरागाईंले आ-आफ्ना प्रस्तुती दिएका थिए।
सिर्जना वाचन पछि समाजका अध्यक्ष डा. गुरागाईंले उपस्थित सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापनको घोषणा भएको थियो।
नेपाली साहित्य समाजले हरेक वर्ष मनाउने यो र यस्ता कार्यक्रम मार्फत प्रवासी नेपालीहरुलाई आफ्ना संस्कृतिक जराहरुसँग जोड्ने र आफ्ना मूल्यहरुलाई संरक्षण गर्ने प्रयास लगातार गरिरहेको छ।
