Home अध्यक्षको सन्देश

अध्यक्षको सन्देश

by admin

साहित्यले समाजलाई ऐना देखाउँछ या समाजले साहित्यलाई, यो साहित्यकारहरुको बहसको विषय हुन सक्दछ। कस्तो लेखाइ साहित्य बन्दछ भन्ने कुरा थोरबहुत निर्दिष्ट भए पनि सैद्धान्तिक आलोकमा रुमल्लिएर लेखाइका कतिपय पक्षहरु साहित्य भित्र पर्छन् या पर्दैनन् पर्गेल्न कठिन हुने गर्दछ । तथापि साहित्यले केही फरक दृष्टिकोणहरू र संवेदनाहरूको माग भने अवश्य गर्दछ। त्यस कारण, सायद यो लेखाइका अरु विधाहरु भन्दा फरक छ । नेपाली साहित्य समाज, क्यानडा सिर्जनाहरुमा कुनै कसी लगाएर साहित्यिक उर्जाशीलतालाई तराजुमा जोख्ने कुरामा विश्वास राख्दैन, बरू ती सिर्जनाहरु पाठकहरुकै तराजुमा चढून् र आ -आफ्नो तौलको लेखाजोखा गरुन् भनि पाठकहरुकै सामु ल्याइ पुर्याउने प्रयत्नमा जुटिरहेको छ। लेखाइ र पाठकको सम्मिश्रणबाट मात्रै सायद साहित्यको अर्थ स्थापित हुन्छ भन्ने लाग्छ ।

साहित्यका छटाहरु हरबखत एउटै ढंगले एउटै पारामा निस्कदैनन्, तर पनि साहित्यकारले तिनलाई समयका तराजुहरुमा बेलाबखत उचाल्दै गर्यो भने तिनमा के कति जीन्दगीका भारहरु अटाएकाछन्, समयका सारहरु अटाएका छन भन्ने कुरा चाहिँ सङ्लिदै जान्छ होला । कविता त अझ संवेदनाका विशिष्ट विन्दुहरुमा निस्कने हुँदा, तिनको रखवारी झनै कठिन रहन जान्छ । साहित्य वैयक्तिक अनुराग भन्दा माथि उठेर निस्कियो भने त्यो अझ आनन्दमय हुन्छ होला, सायद अखवारी दाम्लो भन्दा बाहिर निस्कन सक्यो भने त्यसले अझ स्वादिष्टताको उचाइ नाप्छ होला, भलै तीनका अवयवहरूको मापन फेरी अरू सिर्जनाहरुका मापनका विषयहरु बनुन्। हामीले सिसाकलमका टुँडाहरु उध्याउन छोड्यौ भने सायद सिर्जनाहरु पनि भुत्तिन थाल्ने छन, त्यसकारण सबैको कलम उध्याउने कर्म जारी रहनेछ, र साहित्य समाज, क्यानडासँगको सानिध्यता अझ गहिरो हुँदै जानेछ भन्ने आशा एवम् शुभेक्षा राखेको छु ।

नेपली साहित्य समाज, क्यानडा साहित्यका तिनै विभिन्न स्वरूपहरुलाई उद्घाटित गर्ने सामुहिक थलोको रुपमा विकास गर्दै लाने अभिप्रायका साथ सबैको साथ र सहयोगबाट अघि बढिरहेको छ । हाम्रा हातहरूमा तपाईहरुका सिर्जनात्मक साथहरुले विशिष्ट मजबुती थपिरहेका छन् । समयसँगै तिनमा अझ उचाइहरु र गहिराइहरू थपिँदै जाने छन् भन्ने आशा राखेका छौं । पाठकहरूबाट प्राप्त हुने दृष्टिकोणहरुले मात्र साहित्यिक कृतिहरुका अन्तर्यहरूको उद्घाटन हुनेछन् । तसर्थ, यहाँहरूकै जिम्मामा यो डिजिटल माध्यम मार्फत हाम्रा सिर्जनाहरू सुम्पिएका छौं । आशा छ, साहित्यिक उर्जाको संचार निरन्तर रहने छ र तपाईं हाम्रो संवाद अविच़्छिन्न रहनेछ।

धन्यवाद ।

खेम गुरागाईं
अध्यक्ष,
नेपाली साहित्य समाज, क्यानडा

Heading Title

by नेसास