
नेपाली साहित्य समाज क्यानडाले टोरन्टो पब्लिक लाइब्रेरीको अल्बर्ट क्याम्पबेल ब्रान्चमा सरस्वती पूजाको अवसर पारेर सरस्वती पूजाका साथै कविता वाचन, कृति चर्चा र समाजको वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
सरस्वती वन्दनाका साथ सरस्वतीको तस्वीरमा पूजा अर्चना र स-साना बालबालिकाहरुलाई अक्षर आरम्भबाट कार्यक्रमको शुरुवात गरिएको थियो।
समाजका महासचिव मोहन खरेलले संचालन गरेको यस कार्यक्रममा कोषाध्यक्ष पारु पाण्डेले आर्थिक वर्ष २०२३/२४ को आर्थिक प्रतिवेदन प्रस्तुत र त्यसको अनुमोदन पश्चात कार्यक्रमको अध्यक्षता गरेका समाजका अध्यक्ष डा. खेम गुरागाईंले नयाँ कार्यसमिति चुनिएदेखि हालसम्म गरिएका कार्यक्रमहरुको जानकारी दिदै सबैको साथसहयोग प्रति धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रमको अर्को भागमा स्थानीय साहित्यप्रेमी कविहरुले विभिन्न शिर्षकमा दर्जन बढी कविता र मुक्तक सुनाएका थिए। कविता वाचन गर्नेहरुमा विष्णुहरि भण्डारी, हेम अधिकारी, रविन थपलिया, शिशिर पाण्डे, रबिन्द्र लम्साल, गोविन्द सिंह रावत, शरद मैनाली, खेम गुरागाईं, नविन पौडेल, रविन्द्र घिमिरे, पारु पाण्डे, शेष दहाल, चन्द्र पन्थी, युवराज भण्डारी, मदन बस्नेत लगायत थिए। शोभा गुरागाईं मास्केद्वारा भूपी शेरचनद्वारा लिखित कविताको वाचन गरिएको थियो।
वाचन सकिएपछि नेपाली भाषाविद तथा साहित्यकार हेम अधिकारीद्वारा लिखित पुस्तक ‘उत्तरी ध्रुवतिर टहलिंदा’ को चर्चा गरियो। मोहन खरेलले पुस्तकको बारेमा छोटो जानकारी दिएपछि डा. गोविन्द सिंह रावतले नियात्रा साहित्यको इतिहास केलाउँदै उक्त कृतिबारे थप चर्चा गरेका थिए। कृतिकार अधिकारीले नेपाली साहित्य समाजले पुस्तक चर्चाको अवसर जुटाइदिएकोमा समाजलाई धन्यवाद दिए।
अन्त्यमा, समाजका अध्यक्ष डा. गुरागाईंले कृतिकारलाई बधाई दिदै, सबैलाई साहित्य कर्ममा निरन्तर लाग्न अनुरोधका साथ कार्यक्रम समापनको घोषणा गरेका थिए।