
नेपाली साहित्य समाज क्यानडाले आयोजना गरेको ३३ औं भर्चुअल कवि गोष्ठी फेब्रुअरी २५ आइतबार साँझ सम्पन्न भएको छ। पहिलो भागमा कविहरुले आ-आफ्ना कविता वाचन गरेका थिए भने दोस्रो भागमा युवराज भण्डारीद्वारा प्रकाशित दुई कृतिहरु -अर्को कर्नाली (कविता संग्रह) र भावनाको तस्वीर (गजल संग्रह) को चर्चा गरिएको थियो।
साहित्य समाजका अध्यक्ष खेम गुरागाईंको अध्यक्षतामा महासचिव मोहन खरेलद्वारा संचालित उक्त कार्यक्रममा वाचकहरु क्रमस: खेम गुरागाईं, पारु पाण्डे, युवराज भण्डारी, रमेश पोखरेल, कुसुमाकर शर्मा, रविन थपलिया, पुन्यसागर मरहट्टा, दिनेश धरेल, सुरेन्द्र राजभण्डारी, रेखा पौडेल, र मदन बस्नेत ले अत्यन्त मार्मिक र मीठा कविता तथा गजल प्रस्तुत गरेका थिए।
कृति चर्चाको क्रममा डा. ऋषि बस्ताकोटीले भण्डारी कृत “भावनाको तस्वीर” गजल संग्रहको चर्चा गरेका थिए। आफ्नै एउटा मिठो गजल वाचन बाट शुरु गरेका उनले नेपालमा गजल साहित्यको इतिहासलाई छोटो रुपमा प्रस्तुत गर्दै भण्डारीका गजलहरुका बारेमा, तिनका लेखाइका शैली र प्रवृत्तिका बारेमा उल्लेख गर्दै कृतिकारलाई बधाई तथा प्रगतिको कामना गरेका थिए।
गजल संग्रहको चर्चा पछि नेपाली साहित्य समाजका अध्यक्ष डा. खेम गुरागाईंले भण्डारीकै अर्को कृति “अर्को कर्नाली” का बारेमा समालोचनात्मक समिक्षा गर्दै कृतिकारलाई बधाई र शुभकामना साथ ने सा स को अगुवाईमा यी र यस्ता कार्यक्रमहरु निरन्तर चलिरहने आशा व्यक्त गरेका थिए।
साहित्य समाजले स्रस्टा सम्मान र साहित्य सिर्जनामा प्रोत्साहन हेतु कृति चर्चाको यो प्रयास आगामी कार्यक्रममा जारी रहने कुरा समाजले उल्लेख गरेको छ।