नेपाली साहित्य समाज क्यानडाले नोभेम्बर २५, २०२३ का दिन “लक्ष्मी जयन्ती” तथा युवराज भण्डारीद्वारा सृजित कृतिहरु “भावनाको तस्वीर” (गजल संग्रह) र “अर्को कर्नाली” (कविता संग्रह) को विमोचन कार्यक्रम टोरन्टो पब्लिक लाइब्रेरीको एग्लिन्टन स्क्वायर ब्रान्चमा सम्पन्न गरेको छ।
ने सा स क्यानडाका अध्यक्ष खेम गुरागाईंको अध्यक्षता र समाजका महासचिव मोहन खरेलद्वारा संचालित उक्त कार्यक्रममा नेपाली साहित्यकार तथा भाषाविद् हेम अधिकारीले महाकवि देवकोटाका बारेमा सारगर्भित मन्तव्य प्रस्तुत गरेका थिए। त्यसपछि माधब बरालको गजलबाट वाचन सिलसिला शुरु भएको थियो। अन्य कविहरु रबिन्द्र लम्साल, रविन थपलिया, देवीराम थापा, युवराज भण्डारी, पारु पाण्डे, शरद मैनाली, मदन बस्नेत, खेम गुरागाईं लगायतले आ-आफ्ना रचना वाचन गरिसकेपछि समाजका सल्लाहकार गोविन्द सिंह रावतले महाकविका बारेमा थप चर्चा गरेका थिए।
कार्यक्रमको अर्को भागमा समाजका अध्यक्ष खेम गुरागाईं, कोषाध्यक्ष पारु पाण्डे, र साहित्यकार हेम अधिकारीद्वारा संयुक्तरुपमा युवराज भण्डारीको “भावनाको तस्वीर” (गजल संग्रह) र “अर्को कर्नाली” (कविता संग्रह) विमोचन गरियो। विमोचन पछि समाजका सल्लाहकार रविन थपलियले भण्डारीको कविता संग्रह र यस भित्र समेटिएका कविताहरुका बारेमा विवेचना एवं कविका सिर्जनामा निहित सरलता र मिठासको तारिफ गर्दै केही कविताहरु वाचन गरेका थिए। भण्डारीको संग्रहमा समेटिएका कविताहरु माधब बराल, पारु पाण्डे र शोभा गुरागाईंले पनि वाचन गरेका थिए।
गजल संग्रह “भावनाको तस्वीर” का बारेमा रविन्द्र लम्सालको गहकिलो विवेचना कार्यक्रमको अर्को आकर्षण बनेको थियो। गजल साहित्यको संक्षिप्त जानकारी दिंदै लम्सालले भण्डारीका केही गजलहरुको सन्दर्भसहितको प्रभावकारी वाचन गर्दा श्रोताहरु मन्त्रमुग्ध बनेका थिए। यही क्रममा निरु भण्डारीद्वारा आफ्ना श्रीमानको गजल संग्रहबाट अर्को यौटा मिठो गजल प्रस्तुत भयो।
वाचन र विवेचना पछि सर्जक भण्डारीले आफ्ना सिर्जना यात्रा, अनुभव, र प्रकाशित संग्रहका बारेमा सुनाएका थिए। अन्त्यमा समाजका अध्यक्षले सर्जक भण्डारीलाई सिर्जना यात्राको लागि बधाई एवं शुभकामना दिंदै ‘अर्को कर्नाली’ बाट अर्को यौटा मीठो कविता वाचन गरी कार्यक्रम सम्पन्न भएको जानकारी गराएका थिए।