-डा तुल्सी धरेल
२००४ को वसन्त पंचमीको दिन डा. नविन वैद्य, (स्व) डा. दिपक ओझा, अमित शर्मा, डा. गोविन्द रावतलाई मेरो निवासमा वसन्त पंचमीमा कविता वाचनको लागि आमन्त्रित गरेका थियौं। म लगायत सबै जनाले आ-आफ्ना रचना प्ररस्तुत गर्यौं। यस्ता साहित्यक कार्यक्रमलाई निरन्तरता दिने निधो पनि गरियो। त्यसबखत डा. नविन वैद्य योर्क युनिवर्सिटिमा विद्यावारिधि गर्दै थिए। योर्कको छात्राबासबाट मेरो डेरा (डन मिल ) सम्म आउन करिब डेढ घण्टा लागेको बताएका थिए -एउटा कविता वाचन गर्न र केही कविता सुन्न।
सुरुका दिनहरुमा “टोरोन्टो साहित्य समाज” को नाममा यो अभियान अघि बढ्दै गयो, कुनै पद विभाजन विना नै। वसन्त पंचमीको साथै, भानु जयन्ती, मोति जयन्ती, लक्ष्मी जयन्ती,टोपी दिवस आदि बार्षिक कार्यक्रम हुँदै गए। साथै नेपालबाट कुनै साहित्यक व्यक्ति आउँदा सम्मान कार्यक्रम पनि हुँदै गयो।
धेरै बर्षसम्म हामीहरुले यो संस्थालाई दर्ता पनि गरेनौं। यो सन् २०१७ मात्र दर्ता गरियो। हामी भन्ने गर्थ्यौं -जसको कविता (कृति) राम्रो त्यही व्यक्ति प्रमुख। तर मेरो काम चैं निकै पछि सम्म पनि खजांची (पैसा होइन कि अरु सामग्री जस्तै : ब्यानर, कलम, कापी, चिया चमेना को व्यवस्था आदि) थियो।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अ ने सा स ) ले हामीहरुलाई क्यानडा शाखा बनाउन धेरै प्रयत्न गरे तर हाम्रा सबै सक्रिय साहित्यिक साथीहरुले यो अभियानलाई यसरी नै लैजाने प्रतिबद्धता देखाए। यो संस्थालाई क्यानाडा ब्यापी बनाउने हो भने यस को नाम “नेपाली साहित्य समाज, क्यानडा” बनाउनु पर्ने सुझाव राखियो र तत्पश्चात २०१७/०१/०९ मा क्यानडाको संघिय सरकार मा विधिवत रजिस्ट्रेशन (दर्ता) गरियो।
नेपाली साहित्य समाजको उत्तरोतर प्रगतिको कामना।