63
–युव राज भण्डारी
निठुरीहरू बिर्सिन्छन् कठिन हुन्छ यादमा बाँच्नेलाई
रुनेको पीडा के थाहा हुन्छ अरूको दुखमा हाँस्नेलाई।
जति मायाले राखे नि सुक्दै जान्छन् हरदिन फूलहरू
चुडाए फूल मर्छ भन्ने ख्यालै हुँदैन माला गाँस्नेलाई।
मान्छेको बुद्धिले भियाउँदैन चिन्नलाई चाहिन्छ यन्त्र
मनभित्र असुर ढोकामा देवताको तस्वीर टाँस्नेलाई।
डढेलोमा जल्छन् रुखपातहरू छटपटाउँछन् जीवहरू
पशुपक्षीको के हेक्का हुन्छ वनजङ्गल मास्नेलाई।
कति दुखले मुलुक बन्छ जगेर्ना राष्ट्रको हुन्छ
देशभक्तिले के छुन्छ देशकै सम्पदा नास्नेलाई।
(तनहुँ, हाल: मन्ट्रियल, क्यानाडा)