नायग्रा,
तिमी उत्ताउलियेर सुसेल्दै
पातलापारदर्शीप्रकृत पोशाकमा
असरल्ल कामदेव कि रती झैँ
शरीर ओसाएर
कपडा फर्काएर
फदाल्दा पनि तिमि सुन्दरी मात्र रहेउ
बलात्कार सहनुपरेन
बाइफाला बनिनौ
नखर्मौउलि भैइनौ
बेश्या कहलियिनौ
धन्य, तिम्रो भाग्य नायग्रा।
तिम्रो भाग्य।
नायग्रा
तुइन चुढियेर खसेको दुधेबालकको स्वाद
वर्षाको भेल बनेर खोसेको गरिबको गास
माउ संग लुटेको पाठा को चित्कार
आमा छुटेको बाछाको दुत्कार ,
तिमीले केहि भोग्नुपरेन
तिमी कति भाग्यमानी
तिमि बोक्सी बन्नुपरेन
तिमी छौडा भैनऊ
र तिमीले दिसा खानुपरेन,
तिम्रो भाग्य नायग्रा।
तिम्रो भाग्य।
नायग्रा,
तिमीलाई थाहा छैन होला
मलाई मेरो पण्डितले भनेको-
“तिम्रो फिँजमा इन्द्रको ब्रम्महत्याको पापछ “
त्यो पापको फोका,
मेरी आमाको रजस्वलाजत्तिकै कलुषितछ
छुनुहुदैन, भगवानले मनपरौदैनन
रुखमा फललाग्दैन
फलफुल कुहिञ्छ…
के गर्नु ,
तिमि उत्तरी ध्रुबमा जन्मिएउ
तिमीलाई छाऊ जानुपरेन
सर्पले डसेन
तिमीमा अकालमृत्य पसेन
र
मलामी जान कुरेर बसेका हामी
बेरोजगार भएउ,
तिम्रो भाग्य नायग्रा।
तिम्रो भाग्य।