–रबिन्द्र लम्साल
“बाबु, छिट्टै फर्केर आए है!” भन्थ्यौ नि आमा,
हेर त कति छिट्टै म फर्केर आएँ,
आमा, देख्यौ नि मलाई?
म भोलि जाने भन्दा आज जसो
सकि-नसकि, रातभरि अँनिदै बसेर,
कुँडेमा घोटी-घोटी,
दुध र भुटेका चामलको खट्टे पकाएकि थियौ नि है,
“भोक लाउला बाटोमा खाए है बाबु” भन्दै
त्यो मिठो खट्टे
सालको टपरीभित्र अर्को टपरीले ढाकेर,
बाँस को सिन्काले खुट्दै गर्दा,
तिम्रा आँशु तप्प तप्प टपरीमाथि खसाल्दै
भनेकि थियौ नि आमा, “बाबु ज्यानको ख्याल गरे है”!
मैलै आधाबाटो नहुँदै,
तिमिले पोको पारिदिएको खट्टे,
बिस्तारै-बिस्तारै टपरीमा उनेका सिन्काहरू खोलेर,
तिमिलाइ सँम्झदै-सँम्झदै,
टन्न खाएँ नि आमा।
हिँडने बेला
“बाटोमा केहि किनेर खाए है” भन्दै
खुजुमुज्जु परेका दुइवटा दस-दसका नोटहरू
खोकिलाबाट निकालेर,
खुसुक्क मेरो गोजिमा
राखिदिएकि थियौ नि आमा, सम्झिन्छ्यौ ?
तिमिले दिएको त्यो पैसा,
मेरो पतलूनको दायाँपट्टीको सानो भित्रि गोजिमा
साँचेर राखेकोछु आमा !
त्यो पैसा मास्न नपाउँदै
म छिट्टै फर्केर आएँ नि आमा,
हेर त, देख्यौ नि मलाई ?
“तिम्रो कपाल नँदुखोस, शत्तुर नलागुन हाम्लाई”
भनेर सँधै भन्थौ नि आमा,
म हाम्रा “शत्तुर” हरू सँग
एक-एक गर्दै, छाँटी-छाँटी लडेर,
सबैलाइ जितेर आएँ आमा,
तिमि ढुक्क होऊ है,
अब हाम्लाइ कसैलै आँखा उठाएर हेर्दैनन्आमा !
मैले बाचा पुर्याएँ नि ? म पौरखि भएँ नि, हैन र आमा ?
हेर त, गएको छ महिना नहुँदै
म कति छिट्टै “शत्तुर” लाई जितेर फर्केँ नि आमा,
आमा, देख्यौ नि मलाई?
हेरत –
म फूलैफूलहरूले सजिएर
यति चिल्लो, रातो बाकसभित्र
कति सुन्दरअनि शान्त भएरआएको छु।
रबिन्द्र लम्साल – जुन२९, २०२०, टोरोन्टो, क्यानडा