-मुक्ति गौतम
कहाँ पाउँ म लामो उडान भर्ने पखेटाहरु
र पुगुँ मेरा परिचित डाँडाहरुको बीच,
त्यहाँ पुगेर फालौ ती पखेटाहरु
र हिडौँ, थाकौँ
हिडिरहौँ जिवनभर
एक थुम्कोदेखि अर्को थुम्कोसम्म
सोधौँ, सुनौँ आफ्नै पुराना कथाहरु ।
हेरौँ, स्पर्श गरौँ
दौड्दा लडेको उही खाल्टो
छामौँ, महशुष गरौ आफ्नै पैतालाहरुले
वरिपरि उम्रिएका झारले ढाक्न थालेका
अन्त्यहिन बाल्यकालका उही गोरेटाहरु
चिप्लौँ,
खसौँ ओह्रालोमा पल्टिदै पल्टिदै
स्मृतीका मीठा बल्ड्याङ्गहरु !
कहाँ पाउँ लामो उडान भर्ने पखेटाहरु
र सुनिरहौँ सम्वाद डाँडाहरुको
हावासँगको सम्वाद
झरीसँगको सम्वाद
रातसँगको
एकान्तसँगको सम्वाद,
बोलौँ डाँडासँग
सुनिरहुँ डाँडाहरुसँग ठोक्किएर आउँने
आफ्नै आवाजको प्रतिध्वनी घरि घरि ।
सोधौँ पहिलो पल्ट बोलेको मेरो शव्द
लड्दा पहिलो पल्ट उठेको क्षण
मेरो अनुहारको पहिलो खुसी
म पहिलो पल्ट रुँदाको दुख
जुङ्गा रेखी बसेपछिको मेरो मुस्कान
लजाएका मेरा सुन्दर क्षणहरु
मेरा हरेक दिन, हरेक रातहरु
हरेक बिछोड, मीठा साथहरु,
बिर्सुँ अहिलेको आफु र सुनिरहुँ आफ्नै बिगत ।
ढिस्काहरुबाट उफ्रिएर टाकुराहरुमा पुगौँ
र बोलाउँ अग्ला डाँडाहरुलाई
म निदाउँदा मलाई हेरिरहने अनिदा पहाडहरुलाई
सुम्सुम्याउँ
म सुस्ताउँदा बोलिरहने बोलक्कड डाँडाहरुलाई
चिच्याएर अझ बोल्नलाई उक्साउँ
र सुनिरहौँ मीठो प्रतिध्वनी आफ्नै
छोउँ पहाडहरु
र काउकुती लगाउँ
ताकि घरि घरि आफुलाई नलागोस्
भेटिरहने काउकुती,
कहाँ पाउँ म लामो उडान भर्ने पखेटाहरु
र भेटुँ आकास छुन उडिरहेका डाँडाहरुको हुल
डाँडासँगै उडिरहेको आफ्नै मन!
अक्टुवर ३१, २०२०
टिमिन्स, क्यानडा