एक थान दाह्रीभित्र
लुकिबसेको अनुहारमा अल्मलिएर
बाटो बिर्सिएको पथिक झैँ
ट्वाल्ल परेका आँखाहरु
नियाल्न खोजिरहेछु,
दाह्रीभित्रका बिम्ब प्रतिबिम्बहरु
जुर्मुराउँदै आउँछन बतासे भित्ताहरुमा,
र फैलिन्छन् यत्रतत्र सर्बत्र,
अनि ढ्याप्पै ढाक्छन्
चेतनाका मिहिन प्वालहरु,
झल्याँस्स हुन्छु,
कहीँ हराएको म
फुत्त निस्कन्छ,
उभिन खोज्छ, लर्बराउँदै
र म र दाह्रीभित्रको द्वन्दमा घुस्न खोज्छ
सुटुक्क,
एउटा घण्टी टिङ्ङ गर्छ,
दाह्रीभित्र जन्मिएको अर्को म
खिसिक्क हाँस्छ
र निमेषमै अन्तर्ध्यान हुन्छ,
म भित्रको म “म” हुँ या दाह्रीभित्रको म “म” हुँ
कन्फ्युज्ड हुन्छु ।
बैँसका सपनाहरु
पर बसेर खितखित खितखित गर्छन्,
दाह्री सिरिङ्ग हुन्छ,
दाह्री भित्रको मेरो अनुहार सर्माउछ,
बैँसालु रातहरु
बुर्कुसि मार्दै फनफनिन्छन्,
दाह्री मुसार्छु अनि
अनुहार सुम्सुम्याउँछु,
सम्झनाको तरेलीमा
लमतन्न तन्किएको गोरेटो
टुङ्गिन्छ साँझको घाम सँगै,
फेरि अर्को घण्टी टिङ्ङ गर्छ,
एउटा सपना बुर्लुक्क उफ्रन्छ
र पुर्लुक्क हुन्छ,
म भित्रको म “म” हुँ या दाह्रीभित्रको म “म” हुँ
कन्फ्युज्ड हुन्छु ।
प्रेयसीका अधरहरु सम्झन्छु,
तिनका मदहोस आँखाहरुमा
चुर्लुम्म डुब्छु, हराउँछु भित्रै,
म भित्रको एउटा “म” डङ्ग्रङ्ङ ढल्छ
र एक मृत्यु मर्छ,
निसंकोच,
दाह्री अल्झिन्छ मुलायम त्वचाहरुमा
गर्मिला स्पर्सहरुमा,
एउटा अनुहार गन्द्रङ्ङ खस्छ
र भुतभुतेमा पर्छ,
त्यहीँ एउटा म “म” को अर्थ उधिन्न खोज्छ,
अघिको म अहिलेको “म”सँगै अलमलिन्छ,
फेरि अर्को घण्टी टिङ्ङ गर्छ,
प्रेयसीको एउटा अनुहार
फिस्स हाँस्छ
र भुसुक्क निदाउँछ,
म भित्रको म “म” हुँ या दाह्रीभित्रको म “म” हुँ
कन्फ्युज्ड हुन्छु ।
बाटाहरु खुट्याउन खोज्छु,
कतै अल्मलिएझैं गम्छु,
सङ्ल्याउन खोज्छु धर्साहरु,
कङ्ल्याङकुङ्लुङ गोरेटाहरु,
पानीका फोकाहरु अड्याउन खोज्छु
कर्कलाका पातहरुमा,
फ्याट्ट फुट्छन् थोपाहरु र
लतपत्याउँछन धर्साहरु
तिनै फुटेका पानीका थोपाहरुले,
केहि धर्साहरु
जबरजस्ति पस्छन् दाह्रीभित्र,
र चिरिक्क चिमोट्छन अनुहार,
म तिनको उद्गम ठम्याउन सक्दिन,
अर्कैको अनुहार भित्र
एउटा म
बेसुरा
नाचिरहन्छ,
फेरि अर्को घण्टी टिङ्ङ गर्छ,
एउटा म भँड्खालोमा पर्छ
र तुन्द्रुङ्ङ झुन्डिन्छ,
म भित्रको म “म” हुँ या दाह्रीभित्रको म “म” हुँ
फेरि कन्फ्युज्ड हुन्छु ।