घनघोर बिषादमा आकाश नियाँली हेर
समाधिस्थ चेतमा व्योम चियाई हेर
अटुट प्रेममा गगन अङ्गाली हेर
अनवरत घृणामा पुष्कर चुमी हेर
पुर्णिमाको रातमा त्राटक गर
वा
औंशिको निःशब्द रातमा पागल टोहोलाउ,
कहिल्यै आकाश नभ(शून्य ) भेटिन्न
यो त
सधैंको खचाखच भीड
सधैंको दौडादौडी
सधैंको भरिभराउ
र पनि शान्त ।
कतै दृष्टिभ्रम पो हो कि ?
त्यो अनन्त गुम्बज
गुम्बज भित्रका लाखौं तारामण्डल र नक्षत्रमण्डल
ग्रहहरु र उपग्रहहरु
ताराहरु र जुनहरु
खसिरहेका पिण्डहरु र बसिरहेका पिण्डहरु
सुनिने नादहरु र नसुनिने अनाहदहरु
दौडिरहेका सुरहरु र चम्किरहेका नूरहरु
गन्धहरु र स्वादहरु
डडेकाहरु र सडेकाहरु
कहिले नमर्नेहरु र कहिले नबाँच्नेहरु,
तछाड मछाड गर्दै
दौडिरहेका छन्
मानौं ,
करोडौं शुक्रकिटहरु दौडमा छन्
गर्भाशयको खोजिमा
एउटा जीवन सिर्जनामा
अनि
तिमी ढुक्क हुनेछौ-
आकाश शून्य छैन ।
यो नित्य आकाश ,
एकल साक्षी हो-
अनगिन्ती युगको
अनगिन्ती जिवनचक्रको
अनगिन्ती सुखदुःखको
अनगिन्ती अपराधको
अनगिन्ती दिव्यताको
अनगिन्ती जीव र जगतको,
एउटै र निरन्तर साक्षी
आकाश
यसको छट्पटी बुझिएन होला
यसको खुशी देखिएन होला
यसको भावना सुनिएन होला
सायद,हाम्रो भाषा मिलेन कि!
तर
आकाश शून्य छैन,
शान्त छ
सधैं चलायमान र सधैं स्थीर
पिता जस्तै ।
धन्यवाद