-डा पुण्य सागर मरहट्टा
एक हुल गोविन्द केसीहरु
पात बजाउँदै ओराली झरे,
मरुभूमिमा पैसो छाप्न गएका रे-ऊँट चराउदै मरे।
सुगतरत्न देशद्रोही ठहरिए,
केपीजीले असत्य बाहेक केहि बोल्नै छाडे,
वीर शमशेरको रगत पसेपछि राम शाहको आत्मामा
सुमार्गीले अघिल्लो छाक न्याय डकारे,
पछिल्लो छाक अन्याय सकारे।
प्रचण्डको कुम जस्तो,
प्रचण्डको गर्धन जस्तो-
ल्यांगल्यांग
निर्मला पन्तको मृतात्माले पाउने न्यायको मिति,
भारतीय दलालहरूकै
‘भारतीय दलाल मुर्दावाद’को चर्को नारा,
क्या देश जोडेर गैछस् पृथ्वी नारायण?
म जस्तो नमकहरामले समेत छोडेर जाने देश।
एक मुट्ठी माटो बुकाएर देशको,
अमृत अघाउछु भन्ने मेरा बाबालाई
उनैको आँगनमा गिंड्ने एक नराधम
शान्तिको प्रवचन गर्दै हिड़छ,
त्यो आँगनको तुलसाको मोठमा
परेका त्यो बखतका रगतका सिर्का
छोप्न आँशुले,
पोत्दै गरेकी मेरी आमालाई
चड़काएर हिंडेको त्यो अलच्छीना-
सहस्र दशा परास्त गर्न
हातभरी पत्थर जडेको त्यो एक बिदूषक
अझै देशको दशा उतार्छु भन्छ,
अरुण तेस्रो तुहाउने हन्वेर्नाहरु
नेवानीको प्राणरक्षक बन्न मरिहत्ते गर्छन्,
तेरो वंशज अझै कमल थापाको घोड़ा चढेर
सुनकेशरी मैयाँको दरबार जाने सपना देख्छ,
इतिहासको एक कालखण्डमा
फिरंगी हराएको होस् तैंले, मान्दछु,
तर तिनै फिरंगी अचेल पटकपटक तँलाई हराइरहेछन्,
क्या देश जोडेर गैछस् पृथ्वी नारायण?म जस्तो नमकहरामले समेत छोडेर जाने देश।