–लिला नाथ पाण्डे
हरेक २४ घन्टामा रात र दिन त एक पछि अर्को गर्दै भोग्नु
सामान्य प्राकृतिक नियम भनी सजिलै स्वीकार्दछौं हामी
जब सूर्य रूपी प्रकाश अनकन्टार रातलाई चिरेर
झिसमिसेमा कुना कन्दराबाट घर आँगनमा सुटुक्क चियाउँछ
उज्यालोले चारै तिरबाट रातलाई पत्तै नदिई घेरी सकेको हुन्छ
तब रातको केही जोर चल्दैन र नचाहेर पनि भाग्नु पर्छ।
यसरी हरदिन आइरहने रात कुनै निश्चित समय पछि सकिन्छ र
फेरी उज्यालो दिन हामीलाई खुशी छर्न टुप्लुक्क आइपुग्छ
रातमा अँध्यारोले बनाइदिएको गोप्यता, दिनको प्रकाशमा हराइसकेको हुन्छ
अँध्यारोले पैदा गरेको डर पनि थाहै नपाई भागिसकेको हुन्छ
हराइरहेका धेरै बस्तुहरु उज्यालोकै कारणले नखोजी छर्लंगै देखिन्छन
रातमा मात्रै देखिने भुतहरू भूतकालमा परिणत भई सकेका हुन्छन ।
को बुढा, को जवान निस्फिक्री रमाएर हिडिरहेका भेटिन्छन
लालाबालाहरु घर आँगनमा मस्तसंग रमाएर खेलिरहेका देखिन्छन
पशुपन्छीहरु पनि आफ्नै भाषा र तालमा रमाइरहेका भेटिन्छन
कालो रातले दिएको पिडा र त्यसले दिएका बेचैनी र छटपटीहरु पनि
यस्तो लाग्छ सम्झनामा पनि कहिल्यै नरहने गरी बिलाइसकेका हुन्छन।
सुर्य रुपी शक्तिशाली प्रकासले जति सुकै कठोर रातलाई पनि
सजिलै दिनमा बदलिदिने कुरालाई सामान्य नियम जसरी मानी
सबैले रात दिनलाई केही नभनी सामान्य दिनचर्या बिताइरहेका हुन्छन
आज दुख रूपी कालो रात भएपनि सुख रूपी प्रकास आई
उज्यालो दिन भोग्ने आशामा सुखद अनुभूति गरिरहेका हुन्छन
तर त्यहि शक्तिशाली सुर्यलाई जब ग्रहणले छेक्छ,
उज्यालो हुनु पर्ने दिन पनि अचानक कालो रात जस्तै देखिन्छ
फेरी पनि त्यो केही क्षणको लागि हो भनेर हामीले धैर्य गर्छौ र ग्रहण सकिन्छ।
तर जब ग्रहण केहि क्षणको लागि नरहेर अनन्त सम्म रही रहन्छ र,
रात संग मितेरी लाएर दिनको उज्यालो नै छिनेर,
कहालीलाग्दो रातलाई पट्यार लाग्दो रुपमा लम्ब्याएर,
जीवन र जगतलाई नै संकटमा पार्ने दुस्शाहस गर्न खोज्।
उज्यालो छर्न गरिएका कयौं प्रयत्नहरु पनि नाकामयाब बन्दछन
उज्यालोको अपेक्षा गरेर पुकार सुनाउने र सुन्ने ठाउँ पनि रहदैन र,
कालो रात जाने नाम सम्म नलिई गजधम्म परेर,
आफ्नो अगाडी बाट हट्ने कुनै छेकछन्द नै देखिदैन तब,
सहारा पाउने कुनै गुञ्जाइस नभएको महशुस हुन्छ।
जिन्दगीमा उज्यालो प्रकासको सपना मात्र देखिरहने तर
युगौं युग कहिल्यै सम्म कतै झिसमिसे जति उज्यालो पनि देख्न नपाएका
जन्मौ जन्म दुख रूपी कालो रात मात्रै भोग्नेहरुलाई मात्रै थाहा हुँदो हो
साँच्चिकै त्यस्तो कालो रात कति पट्यार लाग्दो हुन्छ भनेर !
अनवरत रुपमा अनकन्टार कालो रात मात्रै भोग्दा सहन कति गाह्रो हुन्छ भनेर !
(युगौंयुग सम्म पट्यारलाग्दो कालो रात भोग्दा पनि उज्यालोको सानो किरण सम्म नपाएर छटपटाउदै सारा जिन्दगी व्यतित गर्ने संसारका करोडौ असहाय मानवमा समर्पित )