डा पुण्य सागर मरहट्टा
“आइतबार भिलेज स्क्वायर लिजर सेन्टरको जिममा भेटूँ न है ? कि क्लिनिकमै आउनुस्, अहिले अलि हतारमा छु,” २०१८ को मर्सिडिज एसयूभी अगाडि बढाउँदै जगतबन्धु मित्राले भने । मैले ‘स्योर, स्योर’ भनेको सुनेनन् होला, बेफुर्सदी भएर । मैले ‘बोन्धुदा’ भन्ने गरेका यी बांग्लादेशी हिन्दू आप्रवासी हुन्, जसलाई मैले पहिलो पटक क्यालगेरी शहरको उत्तरपूर्वी भागको फाल्कनरिजको टिम हर्टन्समा भेटेको थिएँ ।
मेरो नाम त्रयम्बकेश बिँडारी । मूलघर पालुङ । पछि बाको घर सुनार गाउँ । हालको मेरो बसाइ— क्यालगेरी, क्यानडा गोरालाई त्रयम्बकेश भन्न गाह्रो हुने भएर एमबी बनाए नाम पनि । हजुर, म एमबी । पढाइ पनि एमबीए । वैचारिक धरातल पनि एमबी । बेलाबेलामा एनारानेको चुनाव हुने छेकबाहेक वैचारिक धरातलको उपयोग उत्ति गर्दिनँ म अचेल । त्यो भजाएर शरणार्थी बनेको पक्कै हुँ । पासपोर्ट बुझाएको पक्कै हुँ । उता गए मार्छन् भनेको पनि हुँ नरे (नक्कली रेफ्युजी) बनेकै हुँ । एमबी विचारको सुक्रिबिक्री गरेर सियम कामरेडले त्यत्रो औलादौला कमाउन मिल्ने, मैले आफ्नो सानो ट्याम्को जत्रो गोजेरो भर्न किन नहुने भनेर नै मैले आफूलाई क्यानेडियन बनाएको हुँ एक पित्की पनि पछुतो, ग्लानि वा क्षोभ छैन । सबैले आ–आफ्नो गरिखाने यो देशमा अब मलाई कुनै राजनीतिक विचार, आदर्श र आबद्धताउपर टिठमात्र लाग्छ । त्यसमाथि आफूलाई कम्युनिस्ट भनाउने नवकुवेरउपर त अझ घृणासमेत लाग्छ खैर, यो मेरो परिचयमात्र भयो ।
नेपाल हुँदा काठमाडौंमा भएजति कलेज चहारेर नलेज बेचेको फाइदाले म चाहन्थें— क्यानाडामा समेत उस्तै मौका पाइनेछ । चाहनु र हुनुको साइनो नभेटेपछि ‘चल्तीका नाम गाडी’ गर्न नजिकैको स्टारबक्समा घण्टा हानेकै हुँ । करिब चार महिना त्यसरी ‘ताङघी नाघिन’ गरिसकेपछि कसोकसो यो नयाँ आउने आप्रवासीलाई यहाँको रहनसहन सिकाउने, वृत्ति योजना बनाउन मद्दत गर्ने एक गैससमा जागिर पाएँ । आजपर्यन्त त्यहीँ रोटी सेक्दै छु ।
मलाई टिम्मी (टिम हर्टन्स)को ड्राइभ थ्रु कहिल्यै मन परेन । एक कुरुवा कफी किन्न बिहानको समय त कहिलेकाहीँ दश वटा गाडीको लाइनमा परिन्छ । आधा घण्टा त लाइनमै लाग्छ अक्सर । त्यसैले कफी लिएर अफिस जाने निधो गरेछु भने ड्राइभ थ्रु गर्दिनँ, भित्रै जान्छु । अप्रिल महिनाको १४ तारिख हुनुपर्छ, मैले त्यसैगरी टिम हर्टन्सभित्र पसेर एक डार्क रोस्ट लार्ज डबल डबल कफी र विविध प्रकारका एक दर्जन डोनट अर्डर गरें । काममा यदाकदा त्यसरी कुनै अवसर पारेर डोनट लैजाने चलन छ नि यतातिर, त्यसैको परिपालनामात्र गरेको हुँ । मेरो कम्मरमा झुन्ड्याएको मेरो र मेरो कम्पनीको नामवाला नेमट्याग देखेर एक अधवैंशे सेल्स्पर्सनले नाम उच्चारण गरे ‘त्रोयमबोकेश’ र सोधे, “फ्रम इन्डिया ?”
मैले ‘म नेपालबाट आएको हुँ’ भनें । मैले सोध्ने पालो थियो, “आर यु फ्रम इन्डिया ?’
उनले ‘नो, बांग्लादेश मात्र’ भनिभ्याए । बिहानीपखको चटारोमा अरू केही कुरा गर्न न उनलाई फुर्सद थियो न मलाई ।
कफी र डोनट लिएँ । ‘जीवन हाम्रो सङ्लो पानी हो, सलल’ गीत घन्काउँदै म काममा पुगें । अफिसको कम्प्युटर अन गरें । ‘नेपाली नववर्षको उपलक्ष्यमा मैले केही डोनट ल्याएको छु, लिनलाई कृपया फिल फ्री’ आशयको एक मास इमेल लेखें र अपोइन्टमेन्ट लिस्ट हेरें । सवा ११ बजे आउने भनेको मेरो एक क्लाएन्टको नाम थ्यो— जगतबन्धु मित्रा । ‘अ मेडिकल डक्टर विथ अनर्स, स्पेसलाइजेसन इन ओरल सर्जरी ।’
जब उनको रेजुमे हेरें, मेरा हात थरथर काँपे । ‘समयले मानिसलाई कहाँ–कहाँ पु¥याउँछ’ भन्ने गीत अनायास मेरो दिमागमा बज्रिन आइपुग्यो । उनीसँग कसरी प्रस्तुत हुने ? उनका के समस्या हुन सक्छन् ? उनका अगाडीका तगाराहरू के हुन सक्लान् र आफ्नो पेशामा फर्काउन मैले उनलाई के सहयोग गर्न सकूँला ? प्रश्नहरूले उद्वेलित बनाइरहे ।
रिसेप्सनिस्टले निर्धारित समयमै जगतबन्धु आइपुगेको खबर दिएपछि म उनलाई रिसेप्सनमा लिन गएँ । उनी टिम हर्टन्सको युनिफर्म र क्यापटोपीमा आएका रहेछन् । यी तिनै बंगलादेशी मित्र थिए, जो बिहान मलाई कफी बेच्दै थिए । मैले मेरो अफिसकोठा लाँदै गर्दा उनलाई भनें, “सो, हाउ वाज द ड्राइभ डक्टर ?”
थोरै अप्ठ्यारो मान्दै उनले भने, “ओह ! तिमीलाई म डक्टर हुँ भन्ने पनि थाहा छ ?”
मैले भनें, “देखिँदा कफी सर्भर जस्तो देखिए पनि तिमी डक्टर हौ, मैले तिम्रो रेजुमे पढेको छु ।”
यति भनें र उनलाई मेरो अफिस कोठाभित्र आरामसँग बस्न भनें । चिसो–तातोको औपचारिकतापछि औपचारिक अस्सेस्मेन्ट शुरु भयो ।
“शायद पूर्वी पाकिस्तानमा जन्मिएको अन्तिम मान्छे मै हुँ,” उनले यसरी आफ्नो परिचय शुरु गरे, “मेरा बाबा, आमा र उनका पुर्खा कहिले र कहाँबाट ढाका पुगे, त्यो थाहा छैन तर बांग्लादेश बन्ने बेलामा कोही पनि हालको पाकिस्तान वा कोलकाता जान तयार थिएनन् । हामी थोरै थियौं तर ढाका नै बस्ने निष्कर्षमा पुग्यौं रे ! मेरा मावली हजुरबा माछा व्यापारी र घरका हजुरबा हकिम (परम्परागत चिकित्सक) थिए । मामाहरूको गार्मेन्टको बिजनेस छ अझै ढाकामा । बाबा पनि भर्खरैजसो सरकारी अस्पतालबाट रिटायर हुनुभयो । जेनेरल फिजिसियन हुनुहुन्थ्यो । आमा गृहिणी भए पनि कल्चरमा ग्य्राजुएट हुनुहुन्थ्यो । तसर्थ, एउटा स्थापित परिवार र उसको सघन छाया भएको मलाई लाग्छ । म जे खोज्न यहाँसम्म आएँ, त्यो ढाकामै सम्भव थियो । मैले ढाकामै बीडीएस पढें, केही समय काम गरें । राम्रो विद्यार्थी र राम्रो चिकित्सकमा दरिएको मैले बेलायती सरकारबाट ओरल सर्जरीको स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति पाएँ । गएँ, पढें । केही समय ढाका फर्केर सर्जरीको कामसमेत गरें । खै, के नपुग्दो थियो कुन्नि ! घर, गाडी, जागिर, क्लिनिक, मायालु श्रीमती, तोते बोल्ने छोरोमात्र हो र, निजी डेन्टल कलेजहरूमा पढाउँथें पनि । तर, खै के नपुगेजस्तो, ढाकाबाट निस्किन सके केही गर्न सक्छु जस्तो लागिरह्यो । श्रीमती पनि देश–विदेश देखेकी, कामकाजी महिला । दक्षिण एसियाली संस्कृतिका महिलाउपर थोपरिएका विकृतिबाट उम्किन चाहन्थिन् शायद । उनलाई पनि ढाकाले आफ्नो प्रगति छेकेजस्तो लागेछ क्यारे— हामीले सबै वैभव तिलाञ्जली दिएर प्रवासिने निर्णय ग¥यौं । क्यालगेरी आएको चार महिना डेन्टल क्लिनिक धाएँ, रेजुमे देखाएँ । जवाफ एउटै— ‘तपाईंको डिग्री चमकदार छ तर त्यो यहाँको सिस्टममा मान्यताप्राप्त हुनु जरुरी छ ।’ आजित फजित मैले ढाकाबाट ल्याएको पुँजी सकें तर डाक्टरी काम पाइएन । बूढाबूढीले सल्लाह ग¥यौं— फर्किऊँ ढाका बरु । बैंक खाता हेरियो, तीनजनालाई पुग्ने बाटोखर्च समेत सकिएछ । फर्किने कुरो अलि गम्भीर रूपमा लिएको बुझेर ११ वर्षे छोरो बाझ्यो हामीसँग, ‘तिमीहरूले हिजो मलाई मेरा प्यारा हजुरबा, हजुरआमासँग छुटाएर ल्याउँदा मसँग सोधेनौ तर यहाँबाट फर्काउने कुरा गर्छौ भने म मान्दिनँ । काम भनेको काम हो, त्यसको रंग हुँदैन । डाक्टरको काम पाएनौ त के भो ? जाऊ, काम खोज रेस्टुराँमा, काम गर । मेरा धेरै साथीका बाउआमा स्टारबक्स, टिम हर्टन्स, म्याकडोनाल्डमा काम गर्छन् । उनीहरूलाई कसैले हेप्दैन ।’ छोरो किन त्यसरी डुक्रियो, भेउ नपाउँदै टिम हर्टन्सबाट फोन आयो, जागिर खान गइयो र अहिले करिब चार वर्ष भयो, त्यहीँ अल्झेको छु ।”
जगतबोन्धुले यति भनिसके टेबुलमा राखेको गिलासको पानी रित्याए र आँखाको डिल पुछे ।
म किंकर्तव्यबिमूढ भएँ । कथा सुन्दासुन्दै व्यथा बनेको समेत हेक्का रहेन । उनी फेरि शुरु भए—
“अस्ति मकर संक्रान्तिको दिन मन्दिरबाट फर्किंदा छोरोले पढेन भन्ने गुनासो गरिन् श्रीमतीले । मैले हाम्रै पारा निकालेर हप्काएँ, ‘तँ डाक्टरको छोरो भएर के हो यस्तो ? पढ्दैनस् रे त !’ टिनएजर छोरोले भन्यो, ‘तिमी ढाकाका डाक्टर हौ, यहाँ त कफी सर्भर ।’ उसको कुरा बिझ्यो र तिम्रो सहारा खोज्न आएको छु । अब भन म के गरौं ? कफी सर्भरमै जीवनान्त गरौं कि फेरि डाक्टर बन्ने अर्धमृत सपनामा घ्युचरु होमौं ?”
यी बंगलादेशी डाक्टर जति हतास देखिन्थे, जति आफ्ना हन्डरहरूसँग हारेका जस्ता देखिन्थे, त्योभन्दा बढी मलाई यिनको एकपल्ट छोराको अगाडि फेरि डक्टर बनेरै देखाउने ईख प्रखर रहेको महसुस भयो । मैले कथा सुनिसकेपछि भनें, “कथा जीवन हो, तपाईंका जस्तै मेरा पनि कथा छन् । म आज टेबुलको वल्लो छेउमा छु, तपाईं पल्लो छेउमा तर म तपाईंलाई के विश्वास दिलाउन सक्छु भने तपाईं यस्तो देशमा आइपुग्नुभएको छ, जहाँ तपाईं जे बन्न चाहनुहुन्छ, त्यही बन्न सक्नुहुन्छ । जुन पेशा अँगाल्न चाहनुहुन्छ, त्यही अँगाल्न सक्नुहुन्छ । तपाईं बंगाली हुनुहुँदोरहेछ, म तपाईंभन्दा कान्छो छु, त्यसैले के म तपाईंलाई बोन्धुदा नामले सम्बोधन गर्न सक्छु ?”
उनी हाम्रो सांस्कृतिक सान्निध्यबाट पुलकित भए । उनको आँखामा आशाको एक लहर दौडियो र डिलबाट हर्षाश्रु बनेर चुहियो । उनी जमेको नौनीबाट क्रमशः पग्लेको नौनी बन्दै गए । मैले उनीसँग एक हप्ताको समय मागें र होमवर्क दिने निधो गरें । उनको लागि होमवर्क थियो— शर्ट टर्म, मिड टर्म र लङ टर्म करिअर गोल सेट गर्ने । मेरो लागि होमवर्क थियो, उनलाई उनैको पेशागत सञ्जालभित्र पु¥याइदिने ।
उनी एक हप्तापछि आए । आज उनको अनुहारमा आशाको आभा थियो । उनको करिअर गोलको कुरा करिब डेढ घण्टा लामो तर कुण्ठाभित्र जेलिएको, हतारो भरिएको र मधेसको राजमार्गजस्तो धागोले काटेको जस्तो सोझो भान हुन्थ्यो । सुन्दैमा के बुझिन्थ्यो भने उनी अत्तालिएका छन् । उनी भोलि नै डेन्टल सर्जन हुन चाहन्छन् र पर्सि छोरोलाई देखाइदिन चाहन्छन् ।
मैले भनें, “बोन्धुदा, एक्टा बात सुनो । यो आजको भोलि हुने कुरो होइन । यतिका वर्ष तिमीले धैर्य गरेका छौ, अझै निक्खर पाँच वर्ष धैर्य गर्न तयार छौ ?”
मेरा बोन्धुदा अलिक अमिलिए तर सुन्न तयार भए मेरा सुझाव । अब बोल्ने पालो मेरो थियो—
“एक इरानी डेन्टल डक्टर छिन् युनिभर्सिटीको डेन्टल कलेजमा । डक्टर फर्जाना । सिरियन आप्रवासी हुन् तर दक्षिण एसियाली आप्रवासी केटाकेटीको ओरल हेल्थ एन्ड हाइजिनमा रिसर्च गर्दै छिन् । उनी एउटा निःशुल्क डेन्टल क्याम्प गराउन हाम्रो संस्थासँग कुरा गर्दै छिन् । यदि तिमी स्वयंसेवकका रूपमा फर्जानाको क्याम्पमा संलग्न हुन चाहन्छौ भने म तिमीलाई उनीसँग कनेक्ट गराइदिन सक्छु ।”
उनी फेरि एकबाजी अन्कनाए । मैले भनें, “कमसेकम क्यालगेरी आएर तिमीले पाँच वर्षपछि भए पनि डेन्टल हाइजिनको बारेमा त्यही विधाको एक धुरन्धरसँग साक्षात्कार त गर्न पाउँछौ । म तिम्रा ठाउँमा भए त सहर्ष स्वीकार्थें यो अवसर ।”
करैबलै माने बोन्धुदा । आफ्नो गन्तव्य बिन्दुप्रति बेखबर बोन्धुदा मेरो सुझावमा स्वयंसेवी बन्न तयार भए ।
स्वास्थ्य शिविरको दुई हप्तापछि तारन्तार दुइटा फोन आए । पहिलो फोन डक्टर फर्जानाको थियो । उनले मेरो सानोतिनो इन्टरभ्यु नै लिइन् मेरा बोन्धुदाका बारेमा । मैले जानेको बताइदिएँ । ‘उनी प्रोफेसनल लाग्छन्, डिग्रीधारी हुन्’ आदि इत्यादि । त्यसको एक घण्टाजतिपछि बोन्धुदाले फोन गरे— आधा खुशी, आधा नाखुस थिए, “यार, डक्टर फर्जानाले मलाई रिसर्च असोसिएटको जागिर दिने भइन्, एक वर्षको लागि । घण्टाको १७ डलर दिन्छिन् रे ! टिम हर्टन्सको भन्दा झन्डै ४ डलर बढी । तर, म प्राक्टिस गर्ने डक्टर बन्न चाहन्छु, यता मौका आयो अनुसन्धानको । म के गरौं ?”
मैले भनें, “बोन्धुदा, तुमी के बोका ? एक वर्षसम्म तिमी प्राज्ञिक वातावरणमा हुनेछौ, तिमीलाई पुस्तकालयको पहुँच हुनेछ, तिमीलाई तिम्रो विधामा मार्गनिर्देशन दिने मान्छे पाउनेछौ । अरू त अरू, तिमीजस्तै मान्छेहरूको संगत पाउनेछौ र तिम्रो टिनएजर छोरोलाई भन्नेछौ, ‘हेर केटा, म अबको पाँच वर्षभित्र फेरि डक्टर हुनेछु, त्यो पनि क्यानडामा । तँ के बन्न चाहन्छस् अबको १० वर्षमा ?”
गह्रुंगो मन लिएर बोन्धुदाले भेट्न समय मागे । निर्धारित समयमा बोन्धुदा आए । योपालि मिठाईको पोको बोकेर । म उनको उमेरभन्दा कान्छो भन्ने थाहा हुँदाहुँदै पनि ‘पाई लागौं’ गरे र भने, “यु आर अ ग्रेट गुरु । मैले डक्टर फर्जानाको टिम जोइन गर्ने निर्णय गरें । शायद मेरो वृत्तिको बाटो यही हो ।”
मैले पेशाजन्य जवाफ फर्काएँ, “तिमीलाई बाटो देखाइदिन सकेकोमा आनन्दित छु ।”
बोन्धुदा त्यसपछि पेशामा रुमलिए, सम्पर्क पातलियो र करिब–करिब शून्य भयो । मेरो अफिसमा भएको उनको फाइलसमेत क्लोज भयो । अनायास एकदिन मेरो वर्क इमेलमा उनको इमेल आयो । छोटो इमेलमा गहिरो सन्देश थियो । लेखेका थिए, “मेरा हकिम हजुरबा भन्ने गर्थे, ‘भगवानभन्दा गुरु पुज्य हुन्छन् । भगवान् साथ त दिन्छन्, बाटो देखाइदिँदैनन् ।’ एमबी, तिमी मेरो गुरु भयौ । म आजन्म तिम्रो ऋणी रहनेछु । तिमीले देखाइदिएको बाटोले, डक्टर फर्जानाको मार्गनिर्देशनले र मैले भेटेको प्राज्ञिक संसर्गले अन्ततोगत्वा मैले तीन वटा परीक्षा पास गरें । म एक सर्टिफाइड डेन्टल डक्टर भएँ । ईश्वरले तिमी र तिम्रो परिवारको रक्षा गरून् ।”
इमेल पढेर मेरो मन ढक्क फुल्यो । द्रविभूत भएँ ।
गएको साता ५२ अभेन्यु दक्षिणबाट उत्तर हाँक्दै थिएँ, मेरो २००२ को टोयोटा क्याम्रीमा । टेम्पल चोकमा एउटा र फाल्कनरिजमा अर्को डेन्टल क्लिनिक देखें । डक्टरको नाम पढ्न भ्याएँ— डा. जगतबन्धु (जैक्स) मित्रा, बीडीएस, एमडी (ओरल सर्जरी) !
लामो हँकाइपछि कफीको तिर्सना लागेको थियो, नजिकैको टिम हर्टन्स पसें । एक डार्क रोस्ट मिडियम डबल डबल मगाएँ । कफी सर्भर बोन्धुदा त थिएनन् नै, कफीको स्वाद भने उही थियो । पारखी म उही थिएँ उही थिएँ । विश्वास गर्नुस्, यो कफीको चुस्की भने परमानन्दी थियो, आत्मसन्तुष्टिको थियो । कहिलेकाहीँ त लाग्छ— सन्तानहरू प्रेरणाका पुञ्ज हुन् । मलाई बोन्धुदाको छोरो भेट्न मन छ । उनको छोरो भेट्ने सपनासँगै कफी बुत्याएँ र उठें । भोलिको अपोइन्टमेन्ट नाइजेल आडम्डुगी भन्ने एक नाइजेरियन आर्किटेक्टसँग छ क्यारे !
(मार्च २३, २०१९)
Originally published on baahrakhari.com