शान्त, अत्यन्त शान्त
स्थीर अस्तित्व
यस्तो स्थीर जस्तो आकाश -शून्यता
मोहित सब तारा यही नभमा
न आकारको बोध, न श्पर्श अनुभव
सुनेकी छु ”शिवत्व” भनेको!!
अनुभव त खोइ सुन्यताको हुंदैन क्यारे!
अहो यही विशाल समष्टिको
म एउटा सानो कण,
सूक्ष्म एकाइ
एक क्षणिक रचना,
जीवन नामको खाममा हालेर पठाएको चिठी जस्तो
चिठीका अक्षर होइन, अक्षरमा पोखिएका भावना जस्तो
एकछिनको आवेग क्षणिक जिन्दगी !!
मैले नियालीरहेको अर्को ‘उ’
उ अझै निस्किसकेको छैन यो खोल छोडेर,
म हेरिरहेछु रहेछु आइ सि यू नर्स’ नामको
क्षणिक ‘पद’ भिरेर,
खोइ उ आँफैले एक-एक कोषमा प्राण थामिरहेछ
वा,
भेन्टिलेटरले जबर्जस्ती तानिरहेछ उस्लाई, पख न पख भन्दै
म भने रातमा, मनिटरको टुक्-टुक बाहेक
त्यही स्वां-स्वां सुनिरहेछु,
जस्तो बचेराले उड्न खोज्दै, फेरि बजारिदै गरेको
उस्को प्राण -पखेरु !!
आँफै तानिए जस्तो, थिचिए जस्तो
निक्कै अनौठो अप्ठेरो महसुस गर्दैछु,
यो बुझेर पनि कि यात्रा यही हो,
निर्विकल्प , शाश्वत!!!
(भेन्टिलेटर : श्वास फेर्न सहयोग गर्ने यन्त्र, मनिटर : मुटुको चाल ग्राफमा देखाइदिने यन्त्र)